काठमाडौँमा बौद्ध गोन्पाहरूमा विनय अभ्यासबारे एक दिने गोष्ठि सम्पन्न
Posted: about 18 hours ago

काठमाडौँ, जेठ १० — नेपाल बौद्ध महासंघको आयोजना तथा विभिन्न प्रमुख बौद्ध परम्पराका भिक्षु, श्रमणेरी र श्रमणेरीकाहरूको सहभागितामा नेपालका प्रमुख बौद्ध परम्पराका गोन्पामा विनय अभ्यासू शीर्षकमा एक दिने गोष्ठि सम्पन्न भएको छ । कार्यक्रम काठमाडौँ, तीनचुलीस्थित नाम्गेल च्याङछुप छोलिङ्ग गोन्पामा आयोजना गरिएको थियो ।
उक्त गोष्ठिको उद्देश्य नेपालका विभिन्न बौद्ध गोन्पाहरूमा विनय अभ्यास र शिक्षाको वर्तमान अवस्थाको समीक्षा गर्नुका साथै त्यसका संरक्षण र विकासका सम्भावित उपायहरूबारे गम्भीर बहस तथा विचार आदान प्रदान गर्नु रहेको थियो । गोष्ठिमा चारै परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरुको साथै विभिन्न गोन्पाका विनयधार विद्वान्हरूको उपस्थिति देखिएको थियो । कार्यक्रममा खेन्पो ग्युर्मी छुल्ठिम, खेन्पो गेलोङ छिरिङ, गेशेमा नाम्डोल फुन्छोग, खेन्पो कमल भण्डारी, गेशे ल्हारम्पा लोजाङ ग्याल्छेन र गेशे ल्हारम्पा थुप्तेन छोडगले विनय अनुशासन, शिक्षा पद्धति, परम्परागत अभ्यास, समसामयिक चुनौतीहरू तथा सुधारका उपायहरूबारे कार्यपत्रहरू प्रस्तुत गरे । प्रत्येक कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूले सोधपुछ गर्ने अवसर पाएका थिए । सोधिएका प्रश्नहरूमा कार्यपत्र प्रस्तुतकर्ताहरूले विस्तृत र तथ्यपरक उत्तर दिएर सहभागीहरूको जिज्ञासालाई सम्बोधन गरेका थिए । सहभागीहरूको अभिव्यक्तिबाट नेपालमा विनय शिक्षाको अभ्यास अझ व्यवस्थित, समावेशी र परम्परागत शिक्षासँग समन्वय गरिएको हुनु आवश्यक रहेको सन्देश झल्किएको थियो ।
कार्यक्रम विहान ९ बजे प्रारम्भ भई बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो । दिनभरी भएको छलफलमा बौद्ध अनुशासन, परम्परागत शिक्षा प्रणाली, धार्मिक संस्थाहरूको भूमिका, र आधुनिक समाजमा बौद्ध शिक्षा र विनयको सान्दर्भिकतामाथि गम्भीर छलफल भएको थियो ।नेपाल बौद्ध महासंघका प्रतिनिधिहरूका अनुसार यस्तो प्रकारको गोष्ठिले बौद्ध परम्पराका अनुयायीबीच परस्पर सहकार्य र अनुभव आदान प्रदान गर्न मद्दत पुग्ने छ भने विनय अभ्यासमा एकरूपता र प्रभावकारिता ल्याउने दिशामा थप कार्यको सुरुवात भएको मानिएको छ ।
कार्यक्रममा सहभागी विद्वान्हरूले यस्ता वैचारिक गोष्ठिहरूलाई नियमित रूपमा आयोजना गर्दै जानुपर्ने सुझाव समेत दिएका थिए । कार्यक्रमले नेपालका बौद्ध गोन्पाहरूमा विनय परम्पराको संरक्षण, प्रवर्द्धन र समन्वित अभ्यासका लागि महत्वपूर्ण मञ्च तयार गरेको नेपाल बौद्ध महासंघका अध्यक्षले बताउनु भएको थियो ।